काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पुर्णकालिन रूपमा खुला राख्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदाका दिन समेत शाखा कार्यालयहरू खुला राख्न निर्देशन दिएको हो ।
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको बताए ।
उनका अनुसार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछन् ।
सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरुलाई खुला राख्न निर्देशन दिने गरेको थियो ।
कोभिड–१९ कारण सरकारको राजश्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।