टिंकर सडक निर्माणमा व्यास गाउँपालिकाले थाल्यो महाअभियान, देशभरका स्थानीय सरकारसंग आर्थिक योगदान गर्न अनुराेध


दार्चुला,नेपाल सरकारले दार्चुला–टिंकर सडकमा पर्याप्त बजेट विनियोजन नगरेपछि देशभरका स्थानीय सरकारबाट आर्थिक योगदान जुटाउने महाअभियान थालिएको छ । टिंकर सडक निर्माण भइरहेको क्षेत्रको स्थानीय सरकार व्यास गाउँपालिकाले दार्चुला–टिंकर सडक निर्माणमा सक्दो आर्थिक योगदान गर्न देशभरका स्थानीय सरकारहरुसंग अपिल गरेको छ ।

गाउँपालिकाले टिंकर सडक निर्माणलाई गति दिन देशभरीका स्थानीय तहसंग आर्थिक सहयोग मागेको हो । जेठ १५ गते संघीय सरकारले ल्याइएको नयाँ बजेटमा महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर सडक खण्डमा ९ करोड रुपैयाँ मात्र बजेट छुट्याइएको छ ।
कुल ७९ किलोमिटर लामो सडकमध्ये हालसम्म १३ किलोमिटर मात्रै सडक निर्माण गरिएको छ । बाँकी ६६ किलोमिटर सडक निर्माणका लागि प्राथमिकतासहित पर्याप्त बजेट विनियोजनको माग गरिदैआएको छ ।
पर्याप्त बजेट विनियोजनको माग पटक–पटक गरिए पनि सरकारले सम्बोधन नगरेको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो । ‘धेरैपटक मौखिक र लिखित रुपमा टिंकर सडकमा बजेट बढाउन माग गर्यौं तर सम्बोधन भएन, यसपटकको नयाँ बजेटले त झनै निराश बनायो’ गाउँपालिका अध्यक्ष धामीको भनाई छ ।
असार ८ गते सम्पन्न व्यास गाउँपालिकाको १६औं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा टिंकर सडक निर्माणका लागि देशभरीका स्थानीय सरकारसंग आर्थिक सहयोगको अपिल गर्ने निर्णय गरिएको छ । ‘संघीय सरकारले पर्याप्त बजेट नछुट्याएको अवस्थामा यसको महत्व र आवश्यकता उजागर गर्न स्थानीय सरकार अग्रसर भएको हो’ गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले भन्नुभयो ।
गाउँसभाबाट सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित भएपछि देशभरका सबै स्थानीय तहलाई टिंकर सडकमा आर्थिक योगदान गर्न पत्राचार गर्ने तयारी भइरहेको उपाध्यक्ष कुवरको भनाई छ । ‘टिंकर सडक निर्माणको अवस्था र बजेट विनियोजनको आवश्यकताबारे देशभर सन्देश दिन खोजिरहेका छौं’ उहाँले भन्नुभयो– ‘हरेक स्थानीय सरकारले कम्तिमा १ लाख रुपैयाँ आर्थिक योगदान गर्दा पनि साढे ७ करोड रुपैयाँ संकलन हुने अवस्था छ ।’
व्यास गाउँपालिकाको १६औं गाउँसभाले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमसंगै नयाँ बजेट पनि सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँपालिकाले नयाँ आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो ।
गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ देशभरका स्थानीय सरकारबाट प्राप्त हुने रकमसंगै खर्च गरिने गाउँपालिकाको तयारी छ । ‘टिंकर सडक निर्माणका लागि संकलन हुने रकम कसरी खर्च गर्ने भन्ने टुंगो गाउँ कार्यपालिका बैठकबाट गरिनेछ, सडक निर्माणलाई गति दिनेगरी हाम्रो क्रियासिलता हुनेछ’ गाउँपालिका प्रवक्ता धामीले भन्नुभयो ।
सेनामार्फत निर्माण भइरहेको टिंकर सडकमा चालू आर्थिक वर्ष २०८०÷८१ मा १४ करोड १९ लाख रुपैयाँ बजेट दिइएको छ । यो बजेटबाट ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने काम भइरहेको छ । यो वर्षसम्म १३ किलोमिटर सडक निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ ।
सडक निर्माणका लागि पर्याप्ट बजेट उपलब्ध नहुँदा १० वर्षभित्र निर्माण गर्ने लक्ष्य लम्बिएर दोब्बर समय लाग्ने अवस्था छ । दुई वर्षदेखि बजेट थपेर दु्रतगतिमा टिंकर सडक निर्माण गर्न माग गर्दैआए पनि संघीय सरकारले यो मागलाई प्राथमिकता नदिएको गुनासो छ । ‘प्रधानमन्त्री, विभागिय मन्त्रीहरु, दलका शीर्ष नेताहरु सबैलाई भेटेर पनि माग राख्यौं, लिखित अनुरोध पनि गर्यौं तर बजेटमा न्याय पाइएन’ व्यास गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरको भनाई छ ।
स्थानीय सरकारसंगै देशभरका सातवटै प्रदेश सरकारसंग पनि टिंकर सडक निर्माणमा बजेट मागिने गाउँपालिकाको तयारी छ । ‘संघीय सरकारले आवश्यक बजेट विनियोजन नगरेपछि देशभरका स्थानीय र प्रदेश सरकारहरुको समेत साझेदारी र योगदानमा सडक निर्माण होस् भन्ने हाम्रो प्रयास हो’ व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो, देशभरीका ७ सय ६१ वटै सरकारको सहकार्य र सामूहिक योगदानमा अहिलेसम्म कुनै पनि विकास निर्माण कार्य थालिएको छैन, टिंकर सडक निर्माणमा यस्तो नमुना र उदाहरणीय अभ्यास गर्ने हाम्रो प्रस्ताव हो ।’
व्यास गाउँपालिकाका छ वटै वडाका अधिकांश वस्तीहरु जोडेर टिंकर सडक निर्माण हुँदैछ । हालसम्म वडा नम्बर ३, ४, ५ र ६ को भूगोलमा सडक निर्माणको ट्रयाक निर्माण खोलिएको छ । वडा नम्बर १ र २ को क्षेत्रमा सडक निर्माण गर्न बाँकी छ । महाकाली नदीको किनारैकिनार निर्माण हुने सडक निर्माण कठिन भूगोल, कडा चट्टान र अन्तर्राष्ट्रिय सिमाक्षेत्रका कारण चुनौतीपूर्ण छ ।
गाउँपालिकाको सबै भूगोल र अधिकांश जनसंख्या टिंकर सडक निर्माणबाट लाभान्वित हुने गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवर बताउनुहुन्छ । ‘राष्ट्रिय स्वाभिमान र रणनीतिक महत्वका कारण टिंकर सडक निर्माण हुनु आवश्यक छ, यसका साथै व्यास गाउँपालिकाको समग्र भूगोल र जनसंख्या लाभान्वित हुने भएकाले हामीले यसैलाई मुख्य विकासको आधार मानेका छौं’ उपाध्यक्ष कुवरले भन्नुभयो । ‘व्यास विकासको पूर्वाधार, टिंकर सडक मुख्य आधार’ भन्ने प्रमुख नारा र एजेण्डा १५औं गाँउसभाबाटै निर्धारण गरी गाउँपालिकाले महत्व दिएको उहाँले बताउनुभयो ।
नेपालतर्फ व्यासक्षेत्र जोड्ने पैदलबाटो समेत नभएको अवस्थामा नेपाल सरकारले उच्च प्राथमिकता दिएर टिंकर सडकमा पर्याप्त बजेट दिनुपर्ने सिमाक्षेत्रको माग छ । नेपालतर्फ बाटो नहुँदा सर्वसाधारणदेखि सरकारी अधिकारी र सुरक्षाकर्मीहरुले समेत भारतीय भूमि भएर व्यासक्षेत्रमा पुग्नुपर्ने बाध्यता छ ।
अतिक्रमित नेपाली भूमि नजिकका अन्तिम वस्तीहरु छाङरु र तिंकर गाँउ जोड्ने गरी टिंकर सडक निर्माण हुनेछ । त्रिदेशीय सिमाक्षेत्रमा निर्माण हुने र पवित्र कैलाश मानसरोवर यात्रा सञ्चालनको ढोका खोल्ने भएकाले पनि टिंकर सडक निर्माणलाई व्यास गाउँपालिकाले उच्च महत्व दिएको अध्यक्ष मंगल सिंह धामीको भनाई छ । निर्माण हुन बाँकी ६६ किलोमिटर सडकमा लागि पर्याप्त बजेट विनियोजन गराउन र दु्रतगतिमा सडक निर्माण गर्न संघीय सरकारलाई नैतिक दबाव दिन पनि स्थानीय सरकारको बजेट संकलन गर्नुपरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *