गोरखा – सिरानचोक गाउँपालिका-८ जौवारीमा रहेको श्री परोपकार आदर्श माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।
२००८ सालमा स्थापित विद्यालयले आफ्नो ७३ अौँ वार्षिकोत्सव मनाएको हो।
फागुन ६ र ७ गते आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न शैक्षिक, प्राज्ञिक एवं सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरू आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हरिचन्द्र दवाडीले जानकारी दिनुभयो।
कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झटक दवाडीले गर्नुभएको थियो भने प्रमुख अतिथि सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ रहनुभएको थियो। त्यस्तै, कार्यक्रमको विशिष्ट अतिथिका रूपमा विद्यालयबाट भर्खरै सेवानिवृत्त हुनुभएका शिक्षक हरिप्रसाद ढकाल रहनुभएको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन अर्थात् ६ गतेका दिन विविध खेलकुद प्रतियोगिताहरू सञ्चालन भएका थिए। दोस्रो दिन ७ गते भने विविध अौपचारिक कार्यक्रमहरू भएका थिए।
अौपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र ढकालले गर्नुभएको थियो भने शिक्षिका सगुना ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दवाडीले विद्यालयको वार्षिक आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै, विद्यालयको वार्षिकोत्सवका अवसरमा गोरखाकै पालुङटार बस्ने बसन्तकुमार श्रेष्ठले विद्यालयका लागि निर्माण गरिएको मञ्च हस्तान्तरण गरेका थिए। श्रेष्ठले ११ लाखको लागतमा आफ्ना आमाबुबा र दाजुको स्मृतिमा निर्माण गर्नुभएको विद्यालयका लेखापाल प्रवीण श्रेष्ठले जानकारी दिए।
त्यस्तै, विद्यालयको वार्षिकोत्सकै अवसरमा विभिन्न शिक्षासेवी तथा समाजसेवीहरूबाट ठूलो धनराशिको घोषणा एवं प्रतिबद्धता र विद्यार्थीहरूका लागि छात्रवृत्ति, न्यानो कपडा र शैक्षिक सामग्री सहयोग आएको प्रअ दवाडीे जानकारी दिनुभयो। जसमा विद्यालयका पूर्व प्रअसमेत रहनुभएका हरिप्रसाद ढकालले आफ्ना बुबाको स्मृतिमा विद्यालयमा १ लाख बराबरको अक्षयकोष स्थापना गरेको दवाडीले बताउनुभयो। त्यस्तै, विद्यालयकै पूर्व शिक्षक इन्द्र दवाडीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। त्यस्तै अन्य सहयोगीहरूमा विद्यालयकै सुक बहादुर थापाले ५ जना विद्यार्थीलाई २५ सयको दरले गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएका छन्। यो छात्रवृत्ति दस वर्षसम्म निरन्तर गर्ने प्रतिबद्धता समेत उहाँले जनाएका छन्। त्यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्व आयुक्त माधवी भट्टले १३ जना विद्यार्थीलाई २ हजारको दरले छात्रवृत्ति प्रदान गर्नुभएको छ। समाजसेवी सुनिल विकले ३ जना विद्यार्थीलाई १५ सयका दरले दलित तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्नुभएको छ।
त्यस्तै समाजसेवी राजेन्द्र भट्टले २० थान न्यानो कपडा विपन्न विद्यार्थीलाई हस्तान्तरण गर्ने बताएका छन् भने अर्का समाजसेवी सन्दीप श्रेष्ठले ६ थान न्यानो कपडा हस्तान्तरण गर्नुभएको प्रअ दवाडीले जानकारी दिनुभयो। त्यस्तै, सवाजसेवी नुरमान श्रेष्ठले १३० थान जुत्ता तथा समाजसेवी बल्लभ देवकोटाले १०१ जनालाई ट्र्याक वितरण गर्नुभएको थियो।
कार्यक्रममा सिरानचोक ७ र ८ का वडाध्यक्ष राजेन्द्रबाबू ढकाल र दलमान गुरुङको उपस्थिति रहेको थियो।