धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् ।
उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भएसँगै उनी स्वत: पद मुक्त भएका थिए ।
२७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ ।
तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् । रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थालेका छन् ।