दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार निर्वाचित हुनु भएको छ । एमालेका नगर प्रमुख पदका उम्मेदवार नरसिंह चैसिरले कुल खसेको ९ हजार ८०२ मत मध्ये ५१ दशमलव १४ प्रतिशत अर्थात ५ हजार १३ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस कोमल प्रसाद आचार्यले घोषणा गर्नु भएको छ । एमालेका उम्मेदवार चैसिर १ हजार १ सय २६ मतान्तरले मेयर पदमा निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार हंसराज भट्टले ३ हजार ८ सय ८७ मत प्राप्त गर्नु भएको छ । उहाँ २०७४ सालमा नगरपालिका नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर उपप्रमुखमा पनि एमालेकै उम्मेदवार दुर्गा कुमारी खत्री निर्वाचित हुनु भएको छ । उहाँले खसेको कुल मतको ४७ दशमलव १९ प्रतिशत अर्थात ४ हजार ६ सय २६ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुना बोहराले ४ हजार १ सय ८२ मत प्राप्त गर्नु भएको छ । २०७४ सालमा नगरपालिका नगर उपप्रमुखमा निर्वाचित भएका थिए । खत्री ४ सय ४४ मतान्तरले महाकाली नगरपालिकाको नगर उपप्रमुख पदमा निर्वाचित हुनु भएको छ । यसैबिच महाकाली नगरपालिकाका ६ वटा वडाहरुमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेले वडा नम्बर १, २, ४, ५, ७ र ८ मा जितेको छ । बाकी रहेका वडा नम्बर ३, ६ र ९ मा नेपाली कांग्रेसले जित हात पारेको छ । महाकाली नगरपालिकामा १३ हजार २ सय ८४ मतदाता रहेका छन् ।
उता नौगाड गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दलजित सिंह धामी निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् । मतगणना परिणाम अनुसार धामीले ३ हजार ५ सय ८९ मत प्राप्त गर्नु भएको छ ।उहाँले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रेमसिंह धामीले तीन हजार १ सय ९१ मत ल्याउनु भएको छ । उहाँ २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै उपाध्यक्षमा निर्वाचित ठगुन्नाले ३ हजार ७ सय ६७ मत ल्याउनु भएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका गौरिदेवी ठगुन्नाले २ हजार ८ सय ६७ मत प्राप्त गर्नु भएको छ । उहाँ पनि २०७४ सालमा गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए ।