काठमाडौं : अखाद्य पदार्थका रूपमा लिइने मेलामाइनले मिर्गौलामा क्षति पुर्याउने चिकित्सकको दाबी छ । मिर्गौलामा पत्थरी पर्नेदेखि मूत्रथैलीको क्यान्सरको जोखिम बढाउने विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गरेको अध्ययनमा समेत मेलामाइन शरीरका लागि घातक भएको पाइएको छ । प्रोटिनको मात्रा बढाउन प्रयोग गरिने मेलामाइन प्रयोग गरिन्छ । मेलामाइन दूध र दूग्धजन्य पदार्थमा राखिन्छ । त्यस्तै उर्वरशक्ति वृद्धिका लागि मेलामाइनको प्रयोग गरिन्छ । बाख्रा, वनस्पति, कुखुरा, मुसामा समेत प्रयोग गरिन थालेको डब्लूएचओले जनाएको छ । ‘मेलामाइन टक्सिक (विषाक्त पदार्थ) हो । यसलाई दूधमा हाल्न दिने हो भने स्वास्थ्य अवस्था बिजोग हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले भने ।
सन् २००८ मा चीनले बच्चालाई मेलामाइन मिश्रित दूध खुवाउँदा ३ लाख बालबालिका बिरामी परेका थिए । चीनमा यसलाई ‘चाइनिज मिल्क स्क्यान्डल’ का रूपमा लिने गरिन्छ । यसलाई ‘दुष्ट बुद्धि’ को उपनाम दिइएको थियो । डा. काफ्लेले भने, ‘यसको उपभोगले मिर्गौला र पिसाबमा समस्या देखिएको थियो ।’
‘एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युट्रिसन’ मा समेत मेलामाइन हालिएको खाद्यपदार्थले मिर्गौलामा पत्थरी, मिर्गौलाको दीर्घ समस्या र मूत्रथैलीको क्यान्सर समेत निम्त्याउने खतरा हुने उल्लेख छ ।
वारिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छाले बढी प्रोटिन पाइने तर्क दिँदै मेलामाइन मिसाउनु दुष्ट बुद्धि भएको बताए । ‘यो विष हो । बढी प्रोटिनको लोभमा मन्द विष खुवाउनु हुँदैन,’ बिच्छाले भने ।
मेलामाइनको माइक्रोग्रामको मात्राले पनि मिर्गौलाको कोषिकालाई नष्ट गर्ने अध्ययनमा देखिएको छ । यसले मिर्गौला फेल गराउँछ । मेलामाइनका कण मिर्गौलामा जम्मा हुन्छ । सेतो टायल्सझैं पत्थरीमा परिणत हुन्छ । यसको सम्पर्कमा आउने कोषिकाले ‘आरओएस’ नामक रसायन बनाउँछ । यसले क्यान्सर निम्त्याउने अध्ययनमा देखिएको छ । डा. बिच्छा भन्छन्, ‘दुई–चार पैसा कमाउने लोभमा दुष्ट बुद्धिको प्रयोग नगरौं । मेलामाइनको प्रयोग पहिला गाईभैंसीमा गर्दा पशु नै मरे । बच्चालाई खुवाउने हो भने मिर्गौला र पित्तथैलीमा पत्थरी बनाउँछ । मिर्गौलामा मेलामाइनका कण जम्मा भएर मिर्गौला फेल गराउँछ ।’
सर्जिकल अंकालोजी सोसाइटी अफ नेपालका अध्यक्ष डा. प्रकाशराज न्यौपानेका अनुुसार मेलामाइन अखाद्य पदार्थ हो । उनले भने, ‘अखाद्य पदार्थ खाद्य पदार्थमा मिसाउँदा हानि हुन्छ । मेलामाइन मिसाउन दिनु हुँदैन । चीनमा दुग्ध उत्पादक कम्पनीलाई नै कारबाही गरिएको इतिहास छ । चीनमा भएको काण्डबाट सिक्न सकिन्छ ।’
सन् १८३० मा जर्मनीका एक वैज्ञानिकले मेलामाइन नामकरण गरेका थिए । त्यसपछि यसलाई प्लास्टिक उद्योग, भाँडावर्तन र चमकदार टायल्स निर्माणमा प्रयोग गरिएको थियो । वैज्ञानिकहरूले मेलामाइनमा ६७ प्रतिशत नाइट्रोजन हुने तथ्य पत्ता लगाए । त्यसपछि यसको प्रयोग पशुको दाना र दूधमा मिसाउन थालियो । दूधमा मेलामाइन मिसाउँदा गुणस्तर मापन जाँच गर्दा थाहा पाउन सकिँदैन ।
चीनमा प्रतिबन्ध लगाइएको मेलामाइनबाट जोखिम हुने भएपछि अमेरिकामा पनि रोक लगाइयो । अमेरिकामा सन् २०१० मा प्रतिबन्ध लगाइएको थियो । अमेरिका र दक्षिण अफ्रिकामा जनावरमा मेलामाइनको प्रभावबारे गरिएको अध्ययनमा जनावरको समेत मिर्गौला बिग्रेको पाइएको थियो ।
पोषणविद् केपी लम्सालका अनुसार मेलामाइन विषाक्त रसायन हो । उनले भने, ‘यसबाट कुनै फाइदा छैन । यसले मिर्गौला, कलेजोलगायतका अंगलाई क्षति पुर्याउँछ । क्यान्सरको जोखिम बढाउँछ ।’