काठमाडौँ, नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका हुन् ।
ती सङ्घसंस्थाले आज जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि बहानामा स्थानीय तहको निर्वाचनको मिति पर धकेल्ने काम गर्न नहुने बताइएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले गाउँपालिका र नगरपालिका सदस्यको निर्वाचन गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न हुनेछ भन्ने उल्लेख गरेको छ । स्थानीय तहका निर्वाचित सदस्यको कार्यकाल २०७९ जेठ ७ गते सकिँदै छ ।