धरानकाे दि राइजिङ क्लब र पाेखराकाे स्पाेर्ट्स क्यासलले ए डिभिजन फुटसल लिगमा विजयी शुरुआत गरेका छन् ।
पोखराको बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा धरानको दि राइजिङ क्लबले स्काई गोल्स काठमाडौंलाई ५-४ ले पराजित गरेको थियो ।
राइजिङको जितमा रेवोस मास्केले दुई गोल गरे । यस्तै मिलन लिम्बु, दोर्जे तामाङ र सुदीप गुरुङले एक-एक गोल गरे ।
स्काईका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरेपनि टिमको हार टार्न पर्याप्त भएन । यस्तै आशिष सुनामले एक गाेल गरे ।
शनिबार नै भएकाे दाेस्राे खेलमा स्पोर्ट्स क्यासलले प्रभातफेरि युथ क्लबलाई ७-० काे फराकिलाे अन्तरले पराजित गर्यो ।
स्पोर्ट्स क्यासलको जितमा सुमित श्रेष्ठ र खिमराज गुरुङले दुई-दुई गोल गरे भने विजय गुरुङ, दीपेश घले र किशोर गुरुङले एक-एक गोल गरे ।
अखिल नेपाल फुटबल संघकाे फुटसल कमिटीकाे आयाेजनामा भएकाे लिगमा देशभरबाट छनाेट भएर आएका १० टिमको सहभागिता रहेको छ ।
२१ दिनसम्म चल्ने लिगमा कुल ४९ खेल हुनेछ । फाइनल असाेज २२ गते हुनेछ । फुटसल लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।