छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको चिसो मरुभूमिमा समुद्र सतहभन्दा १ हजार ४९९ मिटर उचाइमा अवस्थित छ ।
भारत र चीनको सीमामा रहेको सो गाउँ आफ्नो प्राकृतिक सुन्दरताका लागि चर्चित छ । अझ सो गाउँमा रहेको साढे ५ सय वर्ष पुरानो शव हेर्नका लागि संसारभरका मानिसहरु आउने गरेका छन् ।
स्पिति घाटीको प्राचीन ताबो गुम्बाभन्दा करीब ५० किलोमिटर टाढा भारत-चीन सीमामा रहेको गयू गाउँ वर्षमा ६ देखि ८ महिनासम्म हिउँले ढाकिने हुनाले बाह्य संसारबाट सम्बन्ध टुट्दछ ।
सो गाउँका मानिसहरुमा उक्त सयौँ वर्ष पुरानो लासप्रति अगाध आस्था र सम्मान छ । मानिसहरु उक्त ममीलाई जिवित भगवान मानेर पूजा गर्दछन् । उक्त लास तिब्बतबाट गयूँ गाउँमा आएर तपस्या गरेका बौद्ध भिक्षु सांग्झा तेन्जिङको भएको जनविश्वास छ ।
ती भिक्षु साधनामा लीन भएकै बेला प्राणत्याग गरेका थिए, जतिबेला उनी ४५ वर्षका थिए । यो दुनियाँको एकमात्र ममी हो, जुन बसेको अवस्थामा छ ।
उक्त लासको वैज्ञानिक अनुसन्धानका क्रममा यसको उमेर साढे ५ सय वर्ष भएको पुष्टि भएको छ ।
मृत शरीरलाई ममी बनाउनका लागि लासमा एक विशेष खालको लेप लगाइन्छ । तर यो ममीमा भने कुनै पनि लेप लगाइएको छैन र पनि साढे ५ शताब्दीसम्म सुरक्षित रहेको छ । यो एउटा रहस्य तथा चमत्कारको विषय बनेको छ ।
अझ सबैलाई अचम्ममा पार्ने कुरा त यो ममीका कपाल र नङ अहिले पनि बढिरहेका छन् । स्थानीय बासिन्दाहरु यसको कपाल र नङ जीवित मानिसमा जस्तै निरन्तर बढिरहने दाबी गर्दछन् ।
भारत तिब्बत सीमा पुलिसले सडक निर्माणका क्रममा उक्त ममी फेला पारेको थियो । सन् १९७५ मा गएको भूकम्पमा परेर उक्त ममी जमिनमा पुरिएको रहेछ । र सन् १९९५ मा सडक निर्माणका क्रममा त्यो फेला पर्यो । भनिन्छ, सडक खन्ने क्रममा कोदालोले उक्त लासको टाउकोमा चोट लागेको थियो र त्यसरी चोट लाग्दा रगत पनि आएको थियो । टाउकोमा लागेको उक्त चोट अहिले पनि देख्न सकिन्छ ।
सन् २००९ सम्म उक्त ममीलाई ITBP को क्याम्पसमा राखियो । तर उक्त लास हेर्न आउने मानिसहरुको ठूलो संख्यालाई मध्यनजर गर्दै त्यसलाई उसकै गाउँमा प्रतिस्थापित गरियो ।
पेन्सिल्भेनिया विश्वविद्यालयका शोधकर्ता भिक्टर मेरका अनुसार गयू गाउँमा रहेको सो ममी ५५० वर्ष पुरानो हो । सयौँ वर्ष पहिले बौद्ध भिक्षुहरु व्यापारको सिलसिलामा भारत तथा तिब्बतबीच आवतजावत गर्दथे । त्यहीँ समयमा एक बौद्ध भिक्षु सांग्झा तेन्जिङ गयू गाउँमा योगमुद्रामा ध्यान गरेर बसे र त्यहीँ उनको मृत्यु भयो । त्यहीँ समयमै उनको मृत शरीरलाई एक स्तूपमा राखिएको थियो ।