काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एकताको प्रस्तावक नै आफू भएको बताएका छन्। आज सिन्धुलीमा कार्यकर्ताहरूसँगको भेटघाटमा दाहालले यस्तो भनेका हुन्।
उनले कम्युनिष्ट एकता प्रतिक्रियावादीलाई मन नपरेको र उनीहरूले आफूलाई नै निसाना बनाएको जिकिर गरे। प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाठगको संज्ञा दिँदै भने, ‘ओली त महाठग रहेछन्। यस्तो ठग देखिनँ। पार्टी फुट्ला कि भनेर थरथर काम्नुपर्ने भयो। पार्टी बच्ला कि भनेर प्रधानमन्त्री पनि पाँचै वर्ष खाऊ भनेँ। तर पनि भएन।’
ओलीले आफू र माओवादीले स्थापित गरेका एजेण्डा समाप्त पार्न खोजेको प्रचण्डको आरोप छ। प्रचण्डले भने, ‘ओलीको मलाई पनि सिध्याउनेबाहेक अरू केही देखिएन। मैले पनि लड्नैपर्ने भए जमेरै लड्ने भनेर १९ बुँदे ल्याएको हुँ। १९ पेज लामो दस्तावेजको बम ओलीमाथि हानेपछि महामारी सुरु भएको छ।’
उनले अब आफ्नो गाँठो बलियो पारेर अगाडि बढ्ने बताएका छन्। आफ्नै संगठन र जनतालाई आधार मानेर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ।