बिना जानकारी ल्याइएको खोपमाथि स्वास्थ्य मन्त्रालयद्वारा छानबिन सुरु


काठमाडौँ, सोमबार बहराइनबाट नेपाल ल्याइएको २ हजार डोज कोरोना भाइरसविरुद्घको खोपको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी बहराइनबाट सोमबार २ हजार डोज खोप भित्रिएको थियो। मन्त्रालयले मंगलबार सो खोपको विषयमा छलफल गरेको हो। नेपाली राजदूतावासले नै खोप सहितको टोलीलाई नेपाल पठाएको समाचार आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार औषधि व्यवस्था विभागसँग छलफल गरेको हो।

मन्त्रालयका अनुसार खोप सोमबार नै आएपनि स्वास्थ्य मन्त्रालयलाई परराष्ट्र मन्त्रालयले मंगलबार मात्र जानकारी दिएको हो। खोप नेपाल आइसकेको र नेपालमा हाल खोप आवश्यक भएकाले स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई सो खोपको विषयमा छानबिन गर्न मंगलबार निर्देशन दिइसकेको छ। अहिले औषधि व्यवस्था विभागले उक्त खोपको विषयमा अध्ययन सुरु गरिसकेको छ।

नेपालमा कुनै पनि औषधि तथा खोप औषधि व्यवस्था विभागको स्वीकृतिबिना भित्र्याउन पाइने व्यवस्था छैन। तर, बहाराइनबाट स्वास्थ्य मन्त्रालय तथा विभागलाई जानकारी नै नदिई २ हजार डोज कोरोना विरुद्घको खोप ल्याइएको थियो। बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको टोलीले सोमबार नेपाल आउँदा उक्त खोप ल्याएका थिए। खोप नेपाल आइसक्दा पनि सोमबार दिउँसो सम्म स्वास्थ्य मन्त्रालय र मातहतका कुनै पनि निकायलाई जानकारी भने थिएन।

राजकुमार सगरमाथा आरोहण गर्न आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *