ओली-नेपाल द्विपक्षीय वार्ताको निचोड


काठमाडौँ, आज सोमबार नेपाल कम्युनिष्ट पार्टी एमालेको पार्टी कार्यालय धुम्बाराहीमा भएको अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ।

बैठक सकेर बाहिरिने क्रममा माधव-पक्षका नेता रघु जी पन्तले वार्ता सकारात्मक रहेको बताउँदै दुवै पक्षले आ-आफ्नो अडान भने नछोडेको जनाएका छन्। नेता पन्तका अनुसार ओलीद्वारा आह्वान गरिएको आउँदो ६ र ७ गतेको केन्द्रीय कमिटी बैठकमा माधव पक्षले सहभागिता नजाउने अडान कायमै राखेको छ।

त्यस्तै, माधव पक्षकै नेता भीम रावलले पार्टीलाई एकताबद्घ बनाउने विषयमा छलफल भएको बताउँदै भने, ‘गत २८ गते बसेको भनिएको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय हामीले मान्दैनौँ। त्यो अवैधानिक छ भन्नेमा हामीले आफ्नो अडान आजपनि छाडेका छैनौँ।’ उनले अघि भने, ‘सर्वोच्चको फैसललाको कारणले हामी पूर्ववत अवस्थामा पुगेका छौँ। फेरि छलफल गर्ने गरी बैठक सकिएको छ।’

त्यस्तै ओली पक्षका नेता एवं पार्टी महासचिव ईश्वर पोखरेलले भने अदालतको फैसलाले २०७५ जेठ ३ अघि पुगेको भन्दै एकताबद्घ भएर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘हाम्रो साझा धारणा भनेको पार्टी एकताबद्घ भएर अघि बढ्नु पर्छ। पुनस्थापित नेकपा एमालेलाई बलियो बनाउनु पर्छ भन्ने हो।’

बिहान साढे ११ देखि सुरु भएको द्विपक्षीय वार्ता अहिले साढे १ बजे सकिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *