माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या ४ हजारबाट २ सयमा झर्यो


काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीका सदस्य संख्यामा ठूलो ह्रास आएको छ।

नेकपा एमालेसँग एकता हुनुअघि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य संख्या ४ हजार थियो। एकताको क्रममा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइयो। ०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो। तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसै वर्ष गत फागुन २३ गते निवेदकको पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्रको एकीकरणपछि यो एकीकृत दलले पाएको नाम खारेज गरिदियो। उक्त फैसलासँगै अनौपचारिक रूपमा विभाजित ओली‍(प्रचण्ड गठबन्धनको दल औपचारिक रूपमै टुट्न पुगी साविककै रूपमा फर्किए।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार पहिलो पटक बसेको थियो। बैठकमा २ सय केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको नेता नारायणकाजी श्रेष्ठले बताए। नेता श्रेष्ठका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुनेछ।

एकीकरणअघि ४ हजार केन्द्रीय सदस्य भएको माओवादी केन्द्रसँग हाल २ सय केन्द्रीय सदस्यहरू मात्रै छन्। माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक सोमबार बिहान ११ बजे बस्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *