माओवादी केन्द्रका मन्त्रीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन


काठमाडौँ, नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, खानेपानी तथा सरसफाई मन्त्री मणि थापासहित मन्त्रीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो।

यस्तै, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीसमेत सरकारमा रहेका छन्। बैठकले २४ घण्टाभित्र उनीहरू सबैलाई आफ्नो स्पष्टीकरणसहित पदबाट राजीनामा दिन निर्देशन दिएको हो।

सवोच्च अदालतको फैसलाले पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्र यथावत अवस्थामा रहेकाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई यस्तो निर्देशन दिएको हो।

शुक्रबार मात्रै प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओलीले गृहमन्त्री बादलसहित पूर्व माओवादी केन्द्रका २३ जना नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

बैठकले पूर्व माओवादी केन्द्रबाट नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित भएका सबैलाई आफ्नो स्थिति स्पष्ट पार्न निर्देशन दिएको हो। माओवादी केन्द्रले भोलि ११ बजे पार्टीको केन्द्रीय कमिटीको बैठकसमेत बोलाएको छ। यस्तै, २ गते गर्ने भनिएको कार्यकर्ता भेला अर्को सूचना प्राप्त नहुँदासम्म स्थगित गरेको बैठकमा सहभागी एक नेताले बताए।

गृहमन्त्री बादलसहित मन्त्रीहरूले पार्टीको निर्देशन पालना नगरी पदबाट राजीनामा नदिए पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ। यदि, माओवादी केन्द्रले उनीहरूलाई कारबाही गरे, उनीहरूको पद के होला हेर्न बाँकी हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *