यसरी पक्राउ परिन् भारतमा वेश्यावृत्ति चलाउने नुवाकोटकी चमेली


काठमाडौँ, नेपाली महिलाले भारतमा कोठी सञ्चालन गरेको फेला परेको छ। उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुलेको हो।
प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस ९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेको छ। उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुलेको हो। उनले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेको पत्ता लागेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए। उनका विषयमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्यादसमेत थप गरी अनुसन्धान जारी छ।

पीडित महिलालाई उनका सहयोगीले चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्ने बहानामा काठमाडौँबाट लगेको अनुसन्धानबाट देखिएको छ। त्यसपछि गिरोहले बीच बाटोमा पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्लीस्थित तामाङको कोठीमा पु¥याएर बिक्री गरेको खुलेको नेउपानेले बताए।
तामाङले पीडितलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाएकी थिइन्। मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। उनका सहयोगीहरुको खोजी जारी रहेको ब्युरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *