सुदूरपश्चिममा शाइन रेसुंगा बैंकको पहिलो शाखा महेन्द्रनगरमा खुल्यो


बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ७६औँ शाखाको रूपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत महेन्द्रनगरमा नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो, यद्यपि सुदूरपश्चिममा भने यो नै बैंकको पहिलो शाखा हो । शाइन रेसुंगा राष्ट्रियस्तरमा स्तरोन्नति भइसकेको विकास बैंक हो । यो नै काठमाडौं उपत्यकाबाहिर प्रधान कार्यालय हुने एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

नवस्थापित शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बुधबार संयुक्त उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मेयर विष्ट र अध्यक्ष मल्लले उद्योग, पर्यटन, कृषि र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न बैंकलाई सुझाब दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौंबाहिरको एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएकाले पनि बैंक सातै प्रदेशमा सेवाविस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए । बैंकले डिजिटल बैकिङ तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिएको उनको भनाइ थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले बैंकसँग स्थानीय माग र आवश्यकताअनुसार निक्षेप र कर्जाका विविध प्रडक्ट भएको बताउँदै यसबाट लाभ लिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *