लालझाडीमा ५ करोडको लागतमा बगैँचा निर्माण हुने


कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ ।

यसका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार समेत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । यसका लागि मन्त्रालयले तीन करोड ३० लाख र गाउँपालिकाले एक करोड ५० लाखको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत उद्यान निर्माण अगाडि बढेको हो ।

उद्यान निर्माण हुने स्थानको छनोट गरी गाउँपालिकाले पर्खाल लगाउन सुरु गरेको छ । उद्यानमा पानीका फोहरा, फूलका क्यारी, फुटपाथ, झुला, सेल्फी प्वाइन्ट, विश्रामस्थल, विभिन्न वस्तुका आकृति, शौचालय, क्यान्टिन, टिकट काउन्टर, चौकीदार घरसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि उद्यानलाई आकर्षक ढङ्गले सजाउने काम गरिने गाउँपालिका अध्यक्ष मदनसेन वडायकले जानकारी दिए ।

उनका अनुसार उद्यानमा सौर्यबत्तीको व्यवस्थासँगै रङ्गीबिरङ्गी बत्तीसमेत जडान गरिने छन् । उद्यानलाई आधुनिक तरिकाले निर्माण गरिने छ । एकैपटक धेरै पर्यटकलाई दृश्यावलोकन गराउन सकिने गरी उद्यान निर्माण हुने बताइएको छ । “उद्यान निर्माण गर्दा जैविक विविधतासँगै राना थारू समुदायको संस्कृतिलाई समेत ध्यान दिइनेछ”, उनले भने, “जसबाट यस क्षेत्रको मौलिकता पस्किन सकियोस् ।”

निर्माण हुने उद्यानलाई जिल्लाकै नमूनाका रूपमा बनाइने उनले बताए । “उद्यान निर्माणपछि आन्तरिक पर्यटक पुग्छन् नै”, अध्यक्ष बडायकले भने, “बाह्य पर्यटकलाई समेत यहाँसम्म पु¥याई गाउँपालिकाको आन्तरिक आम्दानी बढाउनसमेत सघाउ पुग्छ ।” उद्यान क्षेत्रसँगै जोडिएको लालझाडी संरक्षण क्षेत्रको दृश्यसमेत पर्यटकले नियाल्न पाउनेछन् ।

उद्यान क्षेत्रमा पुग्नका लागि कालोपत्र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने योजना गाउँपालिकाले अघि सारेको छ । उद्यान झण्डै १० बिघा क्षेत्रफलमा निर्माण हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *