काठमाडौँ, हिजो बुधबार अज्ञात समूहद्वारा पश्चिम बंगाल भारतकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ। पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणका क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएका हुन्।
यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको आक्रमणको विरोधमा आफ्नो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ। तृणमूल कांग्रेसले घटनामा विपक्षीको हात रहेको बताउँदै आइरहँदा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ। भारतीय जनता पार्टीले भने यो आक्रमणलाई नौटंकीको संज्ञा दिँदै यसबारे अनुसन्धान हुनुपर्ने माग गरेको छ। उपचारमा खटिएका डाक्टरले भने उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको बताएका छन्। उनका अनुसार उनको दायाँ काँध, पाखुरा र गर्धनमा पनि चोट लागेको छ। मुख्यमन्त्री बनर्जीलाई २४ घण्टा ४८ घण्टासम्म चिकित्सकीय निगरानीमा राखिने उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
विपक्षीहरूले भने उनलाई जेड प्लस सुरक्षा दिइएको र यो सुरक्षा तोडेर उनीमाथि कसैले आक्रमण गर्न नसक्ने भएकाले उनले मानिसहरूको सहानुभूति बटुल्न यो नौटंकी गरेको बताएका छन्। मुख्यमन्त्री बनर्जीले भने आफू कारमा यात्रा गरिरहेको समयमा सुरक्षाकर्मी आफ्नो साथमा नरहेको र सोही मौकामा आफूमाथि आक्रमण भएको बताएकी थिइन्।