चैत दोस्रो साताबाट काठमाडौँका घरघरमा मेलम्चीको पानी


काठमाडौँ, मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ। चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए। उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ। परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानीवितरण गरिनेछ ।’’

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा मेलम्चीको जलप्रवाहको शुभारम्भ गरेका थिए। सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो।

कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाडौँ उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ। सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ। मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *