बीमाले ल्याएको परिवर्तन : गाउँभरी फस्टायो व्यबसायिक पशुपालन ?


प्यूठान मर्कावाङका किसान दलबहादुर केसीले तीन वर्षअघि व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरे । त्यतिबेला उनलाई एउटै चिन्ताले सताइरहन्थ्यो कि बाख्रा पालनमा गरेको लगानी कतै डुब्ने पो हो कि । किनभने उनले ऋणपान गरेर बाख्रा व्यवसाय सुरु गरेका थिए । बाख्रालाई केही रोग लागिहाले कसरी उपचार गर्ने भन्ने त्रासमा उनले धेरै दिन पनि गुजारे । तर उनको यस्तो हैरानी त्यतिबेला साम्य भयो, जतिबेला उनले बाख्राहरुको बीमा गराए । आजभोलि उनलाई पहिलोको जस्तो बाख्रा मरेर लगानी डुब्ने चिन्ताले सताउन छाडेको छ । हाल उनले एक सय १० वटा बाख्रा पालेका छन् । ती सबै बाख्राको उनले बीमा गराईसकेका छन् । ‘कुनै रोगका कारण बाख्रा मरिहाल्यो भने बीमामार्फत क्षतिपूर्ति पाइन्छ’, उनी भन्छन्, ‘अब म ढुक्क छु, आजभोलि म यो व्यवसाय अझै धेरै कसरी विस्तार गर्ने भन्ने विषयमै सोचमग्न छु ।’ उनले अहिले प्युठान जिल्लाकै नमूना कृषकको रुपमा परिचय बनाएका छन् ।
बांगेसाल ७ ददेरीकी कल्पना जीसी पनि आफ्नै गाउँमा केही गर्ने उद्देश्य राखेर बाख्रा पालनमा लागिन् । सुरुमा उनलाई पशु बीमासम्बन्धी कुरा थाहा थिएन । त्यसैले पनि कुनै पनि बाख्राको बीमा गराइनन् । सुरुमा केही बाख्रा मरेर क्षति पनि भयो । त्यसपछि आफ्नो सारा लगानी र मेहनत खेर जाने चिन्ताले सताउन थाल्यो । तर पछि उनले पशुबीमा कार्यक्रमबारे थाहा पाइन र आफ्नो फार्ममा भएका सबै बाख्राको बीमा गराइहालिन् । ‘पशुबीमाबारे थाहा पाएपछि मैले आफ्नो फार्ममा भएका ७० मध्ये ४० वटा बाख्राको बीमा गराइसकेकी छु’, उनले भनिन्, ‘अरु बाख्राको उमेर पुगेपछि बीमा गराइहाल्छु ।’ त्यतिमात्रै हो र, उनले बीमा गरिसकेपछि दुई वटा बाख्राको क्षतिपूर्तिबापतको रकम पनि बुझिसकिन् ।

दलबहादुर र कल्पनाजस्तै जिल्लाका थुप्रै व्यावसायिक किसान पशुबिमा कार्यक्रमबाट लाभान्वित भएका छन् । व्यावसायिक पशुपालन गर्ने किसानलाई हुनसक्ने सम्भावित जोखिमबाट बचाउन दुई वर्ष अघिदेखि जिल्लामा पशुबिमा कार्यक्रम सुरु भएको जिल्ला पशु सेवा कार्यालय प्युठानले जनाएको छ । ‘किसानहरूको सहभागिता बढ्दो छ’, वरिष्ठ पशु विकास अधिकृत डा। शरणकुमार पाण्डे भन्छन्, ‘सुरुमा थाहा नभएर किसान सहभागी भएनन् । आजभोलि उत्साहजनक सहभागिता देखिएको छ ।’ बीमा गरेपछि हुने फाइदाबारे गाउँगाउँमा चेतना फैलिएपछि किसानको सहभागिता बढेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *