माधव नेपालको जन्मदिनमा सर्वोच्चको धक्का


काठमाडौं। आइतबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिनमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा हुने गरी फैसला सुनाएको छ। योसँगै नेपालको राजनीतिक जीवनमा ठूलो धक्का लाग्न पुगेको छ।

अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज हुन पुगेको छ। जसले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दल भएको जनाएको छ।

पूर्व प्रधानमन्त्री नेपाल पछिल्लो समय प्रचण्डसँग सहकार्य गर्दै ओलीको विरुद्धमा विरोध गर्दै आएका थिए। ओलीसँगको विवादपछि सत्तारुढ दल राजनीतिक रुपमा ओली र प्रचण्ड–माधव पक्षमा विभाजन हुँदै आएको छ।

यस्तो अवस्थामा सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काएपछि नेता नेपालसहित पूर्व प्रधानमन्त्री झलनाथ खनाललगायत पूर्वएमालेका नेताहरूको राजनीतिक भविष्य संकटमा परेको छ।

जन्मदिनकै दिन राजनीतिक धक्का व्यहोर्नेमा प्रधानमन्त्री ओली पनि रहेका छन्। यसअघि सर्वोच्च अदालतले गत ११ फागुनमा ओलीले जन्मदिन मनाइरहँदा प्रतिनिधिसभा विघटन बदर गरिदिएको थियो। प्रधानमन्त्री ओलीले गत ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *