अब के गर्लान् बामदेव ? ओलीको संसदीय दलको बैठकमा सहभागी नहुने


काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट सांसद सहभागी हुने संसदीय दलको बैठकमा नेता बामदेव गौतम उपस्थित नहुने भएका छन्।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको घटनासँगै दुई धुव्रमा देखिएको सत्तारुढ दल नेकपाभित्र दैनिक रुपमा समस्या बल्झिँदै गएको छ। दुई धुव्रमा देखिएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टाछुट्टै भेला आयोजना गर्दै आएका छन्।

शुक्रबार प्रचण्ड–माधव निकट संसदीय दलको बैठक बसी एक सय १४ सांसदको हस्ताक्षर दाबी गरिएको प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीसमेत रहेका ओलीलाई संसदीय दलको नेताबाट हटाई प्रचण्डलाई दलको नेता घोषणा गरेको थियो। यो निर्णयसँगै नयाँ रणनीति बनाउन शुक्रबार बेलुका प्रधानमन्त्री अ‍ोली गौतम निवास भैँसीपाटी पुगेका थिए।

ओलीले आज हुने संसदीय दलको बैठकमा सहभागी हुन नेता गौतमलाई आग्रह गरेका थिए। तर, ओलीको आग्रहलाई इन्कार गर्दै आज हुने संसदीय दलको बैठकमा नेता गौतम सहभागी नहुने गौतम निकट नेकपाको राष्ट्रिय एकता अभियानका नेता हरि पराजुलीले जानकारी दिए।

के गर्लान् बामदेव ?

गत पुस ५ गते प्रधानमन्त्री ओलीको कदमसँगै दुई धुव्रमा देखियो नेकपामा। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एउटा धुव्रको नेतृत्व गरिरहेका छन् भने, अर्का अध्यक्ष प्रचण्ड–माधव समूहले अर्को धुव्रको नेतृत्व गरिरहेका छन्। यसबीच दुई धुव्रमा देखिएको नेकपालाई एकै ठाउँमा ल्याउछु भन्दै नेता गौतमले मध्यमार्गी बाटो लिए।

नेकपाभित्र शक्तिशाली नेताको छवि बनाएका नेता गौतमको यो बाटो भने त्यति सहज देखिएन। उनी ओली र प्रचण्ड–माधव पक्षलाई एकै ठाउँमा ल्याउन जति पहल र प्रयात्न गरिरहेका थिए। त्यत्तिकै ओली र प्रचण्ड–माधव सम्बन्धको दुरी झनै बढ्दै गएको छ। यो बीचमा प्रचण्ड–माधव पक्षले पनि नेता गौतमसँग छलफल गरी आफ्नो पक्षलाई साथ दिन आग्रह गर्दै आएका थिए।

शुक्रबार प्रधानमन्त्री ओलीले पनि आफू अप्ठारोमा परेको भन्दै आफूलाई साथ दिन नेता गौतमसँग आग्रह गरे। तर, गौतमले यी दुवै पक्षको प्रस्तावलाई अस्वीर गर्दै आइरहेका छन्।

गत माघ १४ गते ६ सय ५१ सदस्यीयको नेपाल कम्युनिष्ट पार्टी नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरी संयोजक बनेका गौतमले जिल्ला जिल्लामा समेत पार्टी एकता अभियान समिति घोषणा गरिरहेका छन्। ‘हामी दुवै पक्षलाई मिलाउन हर प्रयात्न गरिरहेका छौँ। नेपाली जनता तथा आम कार्यकर्ताको चाहना नेकपा एक भएको हेर्नु छ। दुवै पक्षले आआफ्ना कमजोरी आत्मालोचना गरी एक ठाउँमा हुनुको विकल्प छैन,’ गौतम निकट नेता पराजुली भन्छन्, ‘जनता र कार्यकर्ताको भावनाको उच्च सम्मान गर्दै नेता बामदेव गौतमले यो बाटो रोजेको हो।’

तर, नेता बामदेवसँग विगतमा नजिक रहेर काम गरेका कतिपय नेताहरू भने बामदेवको यो कदमले उनी आफै कमजोर बन्दै गइरहेको तथा सही समयमा सही निर्णय गर्न नसकेको बताएका छन्। बामदेवको ढुलमुले प्रवृतिले पार्टीमा थप समस्या देखिएको उनीहरूले दाबी गरे। बीचमा बसेर अल्मलिनु भन्दा एउटा पक्षलाई साथ दिएर अगाडि बढ्दा उनी स्वयमलाई र नेकपालाई समेत फाइदा हुने उनीहरूको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *