काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताको मोह राख्न नहुने बताए। उनले प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने भन्दै यस्तो टिप्पणी गरेका हुन्।
बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले यतिबेला नेपाली जनताले कांग्रेससँग धेरै आशा राखेको भन्दै कांग्रेसले प्रतिपक्षी भूमिकाबाट हलचल गर्न नहुने बताएका हुन्। उनले भनेका छन्, ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ। यद्यपि हामी सानो संख्यामा छौँ, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ। सजग भएर, इमानदार भएर विपक्षी दलको उचित भूमिका निर्वाह गर्न सक्यौँ भने अर्कोपटक लोकतन्त्रको रक्षार्थ सहयोग गर्न सक्छौँ।’
यद्यपि, वरिष्ठ नेता पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षी दलको भूमिका कस्तो हुनुपर्छ भन्ने चाहिँ खुलाएनन्।