काठमाडौँ । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई उपचारको सिलसिलामा नयाँ दिल्ली जाने भएका छन्। नेपाल वायुसेवाको विमानबाट उनी नयाँदिल्ली जान लागेका हुन्।
डा भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन्। उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए।
अहिले चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए।
दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने कार्यक्रम रहेको छ ।