अन्तरिक्षमा ‘गरुड’ रकेट उडाउने मिसनमा नेपाली विद्यार्थी


गत वर्ष नेपाली विद्यार्थीहरु आश्विनी खरेल, सृष्टि पौडेल, रमेश साउद, मोहन तामाङलगायतले बनाएको रकेटको डिजाइन ‘द स्पेसपोर्ट अमेरिका कपमा अस्वीकृत भएको थियो।
द स्पेसपोर्ट अमेरिका कप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका कलेज र विश्वविद्यालयका विद्यार्थीहरुबीच रकेट उडाउने प्रतिस्पर्धा हुन्छ। अमेरिकामा हरेक वर्ष आयोजना हुने सो प्रतियोगितामा गत वर्ष विभिन्न देशका १२२ टोली सहभागी थिए।

प्रतियोगितामा विद्यार्थीहरुले आ–आफ्नो रकेटको डिजाइन प्रस्तुत गर्छन्। प्रतियोगिताको मापदण्डअनुसार विद्यार्थी टोलीले ठोस, तरल वा हाइब्रिड प्रोपेलेन्ट रकेटको डिजाइन बनाउने गर्छन्।
मापदण्डअनुरुप डिजाइन राम्रो भएमा तिनको रजिस्ट्रेसन हुन्छ र डिजाइनअनुरुप विभिन्न चरणमा छनोट हुँदै गएमा अन्त्यमा रकेट उडाउने अवसर प्राप्त हुन्छ।

दर्ता प्रक्रियामै डिजाइन अस्वीकृत भएपछि अघिल्लो वर्ष आफ्नो रकेट उडाउने नेपाली विद्यार्थीहरुको सपना अधुरै रह्यो।
‘त्यतिबेला टिम पनि थिएन। रकेटसम्बन्धी ज्ञान पनि त्यति भएन। सायद क्यालकुलेसन पनि मिलेन। त्यसैले रजिस्ट्रेसनमै रिजेक्ट भयो,’ स्नातक अध्ययनको तयारीमा रहेका मोहन भन्छन्।

त्यसपछिका केही समय यी विद्यार्थीले एउटा समूह बनाएर तयारी गर्न थाले। एकपटक डिजाइन अस्वीकृत भइसकेकाले स्तरीय टोली र राम्रो अध्ययनबिना फेरि असफलता हात लाग्ने उनीहरुले थाहा पाइसकेका थिए।
सोहीकारण उनीहरुले अन्तरिक्षसम्बन्धी अध्ययन र विकास गर्न विद्यार्थीहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९सिड्स०को नेपाली शाखा अन्तर्गत रकेटसम्बन्धी काम गर्ने ओपन रकेट एन्ड स्पेस सोसाइटी नेपाल ओर्यास० को गठन गरे।

रकेट र अन्तरिक्षमा रुचि भएका देशभरका विद्यार्थीहरु आवद्ध होऊन् र टिम राम्रो बनोस् भन्ने चाहनाले उनीहरुले यो समूह गठन गरेका थिए। त्यसैमार्फत बनेको टिमले गम्भीरतापूर्वक अध्ययन गर्दै नयाँ डिजाइन तयार गर्‍यो। काठमाडौं, पोखरा, आदि स्थानका २० जना विद्यार्थीहरुले तयार पारेको ‘गरुड’ नामक रकेटको डिजाइन यसपटक भने छनोट भयो।

‘यसपटक विश्वभरका तीन सय बढी टोलीबाट १५४ टोली छानिँदा हामीपनि त्यसमा पर्न सफल भयौं। झण्डै एकवर्षको मेहनतपछि हात पारेको सफलता र नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुसी छौँ,’ प्रोजेक्टकी संस्थापक तथा काठमाडौं विश्वविद्यालयमा इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक अध्ययनरत आश्विनी खरेल भन्छिन्।

आयोजकका अनुसार यसपटक ६३ प्रतिशत रकेट डिजाइन अमेरिकाबाट छनोट भएका छन्। त्यसबाहेक क्यानडा, बेलायत, भारत, अस्ट्रेलिया, टर्की, ब्राजिल, स्वीट्जरल्यान्ड, मेक्सिको, जर्मनी, रुस, नर्वे, पोल्यान्ड, ग्रिस, अल्जेरिया, इजिप्टसँगै नेपालको ‘गरुड’ पनि स्वीकृत भएको हो।

आफूहरुले बनाएको रकेटको डिजाइन सोलिड साउन्डिङयुक्त भएको खरेलले बताइन्। यसको लम्बाइ ९० इन्च छ। यसले स्याटेलाइट लगेर छाड्न सक्छ।

छनोट भएका १५४ वटै डिजाइन अहिले प्रारम्भिक चरणमै छन्। यसपछि अब उनीहरुले दुईवटा प्रगति विवरण बुझाउनुपर्छ। तेस्रोपल्ट बल्ल अमेरिका पुगेर ‘गरुड’ प्रक्षेपण गर्न पाउने निधो हुन्छ।

दर्ताका क्रममा नै विद्यार्थीहरुले कुन मितिमा रकेटमा के तयार हुन्छ र के परीक्षण गरिन्छ भनेर विस्तृत विवरण बुझाइसकेका छन। अब उनीहरुलाई त्यही समयक्रम अनुसार चल्नुपर्छ। बुझाएको योजनाअनुसार काम नभए उनीहरु प्रतियोगिताबाट बाहिरिनेछन्।

यही नोभेम्बर र डिसेम्बरमा लगातार दुई प्रगति विवरण बुझाउनुपर्ने आश्विनीले बताइन्। यी चरणमा रकेटको इलेक्ट्रोनिक सिस्टम, फ्लाइट कम्युटर, जीपीएस लगायतका उपकरणहरुको डिजाइन तथा जडान गरिसक्नुपर्नेछ।
तर, त्यसका लागि आवश्यक सामग्री जुटाउन निकै चुनौती छ। केही सामग्रीहरु नेपालमा नपाइने भएकाले विदेशबाट मगाउनुपर्छ। केही सामग्री भने उनीहरु आफैँले तयार गर्ने निधो गरेका छन्। डिजाइनअनुसारका सामान खरिद तथा आपूर्तिमा १५ हजार डलरसम्म लाग्ने भएकाले उनीहरुले सहयोग आह्वान समेत गरेका छन्।

‘दुवै चरणमा सोचेअनुरुप प्रगति भए जनवरीसम्म हामी अमेरिका जानेनजाने टुंगो लाग्छ। यदि जाने भए जुन महिनामा हामी मेड इन नेपाल गरुड रकेट उडाउन पाउनेछौं,’ आश्विनी भन्छिन्, ‘अहिले हामीले सकेसम्म प्रयास गरिरहेका छौँ। छनोट हुन्छौँ भन्नेमा विश्वस्त छौँ।’

क्षमता देखाउने अवसर स्
यसअघि नास्टले आयोजना गरेको प्रतियोगितामा पनि उनीहरुले यस्तै प्रकृतिको ‘फिनिक्स’ नामक रकेटको प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव पास हुने र त्यसवापत आउने दश लाख रकमले गरुड निर्माणमा सहयोग पुग्ने उनीहरुको विश्वास थियो।

‘नास्टमा हाम्रो प्रोजेक्ट छनोट हुनेमा विश्वस्त थियौं। त्यसैबाट आउने अनुदानबाट यस प्रोजेक्टमा सहयोग पुग्ने विश्वास थियो,’ मोहनले भने, ‘तर उहाँहरुले हाम्रो प्रस्ताव रिजेक्ट गरिदिनुभयो। त्यसपछि सरकारी निकायबाट खासै सहयोगको अपेक्षा छैन।’
यस प्रतिस्पर्धालाई आफूहरुले अवसरको रुपमा लिएको उनी बताउँछन। प्रतिस्पर्धामा राम्रो डिजाइन भए संसारका ठुल्ठूला स्पेस कम्पनीहरुले हायर गर्ने सम्भावना पनि हुने उनको भनाइ छ।

‘स्पेस कम्पनीहरुअघि आफ्नो क्षमता देखाउने यो मौका पनि हो,’ उनले भने, ‘हामी अन्तिम चरणमा पुग्दा अन्य विद्यार्थीहरुलाई पनि त्यसले उत्प्रेरणा दिनेछ। साथमा विश्वलाई पनि नेपाल र नेपालीको क्षमता कम छैन भन्ने सन्देश जान्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *