काठमाडौँ । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा ५७ हजार ९५५, गण्डकीमा पाँच हजार ७६०, लुम्बिनीमा १४ हजार ५१०, कर्णालीमा चार हजार ६२० र सुदूरपश्चिममा आठ हजार ४९१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा तीन हजार १६८ जना कोरोनामुक्त भएका छन् । देशभर आज ५७० जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ७२५ नमूना परीक्षण गर्दा उक्त सङख्यामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँमा २२५, भक्तपुरमा चार र ललितपुरमा २३ सङ्क्रमित थपिएका छन् ।
प्रदेश १ मा ३५, प्रदेश २ मा १५, वागमतीमा २७३, गण्डकीमा ८० र लुम्बिनीमा १६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । कर्णाली र सुदूपश्चिममा आज सङ्क्रमित भेटिएका छैनन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख ६० हजार ४०० पुगेको छ ।
४० हजार ६८१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार ४६४ सङ्क्रमित होम आइसोलेसनमा छन् ।
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मुस्ताङमा सक्रिय सङ्क्रमित छैनन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८७६ पुगेको छ ।