कोरोनाबाट एकैदिन थप ९ जनाको मृत्यु, ४ हजारभन्दा धेरै संक्रमित


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ रहेको जनाएको छ ।

सोमवार एक सूचना जारी गर्दै मन्त्रालयले २ महिला र ७ जना पुरुषको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा सुनसरीका तीन पुरुष, काठमाडौँकी १ महिलासहित २ पुरुष, ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका एक पुरुष रहेका छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४७ कोरोना संक्रमित भेटिएका छन् भने १४ सय ७३ डिस्चार्ज भएका छन् ।

सोमवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ३० पीसीआर परीक्षण गरिएको र तीमध्ये ४ हजार ४७ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।

यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर १४ सय ७३ जना घर फर्केका छन् । नेपालमा हालसम्म ७७ हजार २ सय ७७ कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

डा. गौतमले काठमाडौँ जिल्लामा १८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ नयाँ संक्रमित भेटिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *