कहिले आउँछ दार्चुलामा पीसीआर मेसिन ?


दार्चुला । कोरोना भाइरसको संक्रमण भएनभएको पत्ता लगाउने पीसीआर परीक्षण मेसिन खरिद गर्ने जिल्ला सभाले निर्णय गरेको ३ महिना बितिसकेको छ ।

कोरोनाका संक्रमित दिनदिनै बढिरहेको र परीक्षणका लागि स्वाब संकलन गरेर अर्को जिल्ला पठाएर रिपोर्ट आउँदासम्म संक्रमण फैलिने हुन्छ । त्यसैकारण जिल्लामा नै कोरोना परीक्षण गर्ने गरी पीसीआर मेसिन खरिद गर्ने निर्णय भएको थियो । तर, त्यस्तो निर्णय गरेको ३ महिना बितिसक्दा पनि खरिदप्रक्रिया भने अगाडि बढेको छैन ।

असार २१ गते सम्पन्न भएको चौथो जिल्लासभाले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक आरटी(पीसीआर मेसिन खरिद, ल्याब स्थापना, सञ्चालन, व्यवस्थापन र जनशक्ति व्यवस्थापन सम्बन्धि निर्णय गरेको थियो । उक्त निर्णय भएको ३ महिना बितिसक्दा पनि सरोकारवाला निकायले कुनै चासो देखाएको छैन ।

जबकी पीसीआर मेसिन खरिदकै लागि भनेर जिल्ला समन्वय समिति प्रमुख करवीर कार्कीको संयोजकत्वमा १२ सदस्यीय कार्यक्रम निर्देशक समिति गठन गरिएको थियो। निर्देशक समितिमा जिल्ला समन्वय समिति उपप्रमुख, दार्चुलाका नौ वटै स्थानीय तहका प्रमुख र जिल्ला समन्वय अधिकारी सदस्य रहेका थिए । निर्देशक समितिले मेसिन खरिद, ल्याब स्थापना, सञ्चालन, व्यवस्थापन र जनशक्ति व्यवस्थापनमा समन्वय र नेतृत्व गर्ने निर्णय भएको थियो।

जिल्लस्तरीय संकट व्यवस्थापन समिति र स्थानीय तहहरुबीच समन्वय गरी यथाशीघ्र पीसीआर मेसिन खरिद गर्ने निर्णय गरिएको महिनौं बितिसक्दा पनि हालसम्म कुनैपनि पक्रिया अगाडि नबढाउँदा दार्चुलाबाट हुने स्वाब संकलनको पीसीआर परीक्षणका लागि बैतडी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाउनुपरेको छ ।

पीसीआर मेसिन खरिद गरी सञ्चालनमा ल्याउन करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । त्यसमध्ये पीसीआर मेसिन खरिद तथा व्यवस्थापनमा जिल्ला समन्वय समितिबाट कूल खर्चको ४० प्रतिशत बजेट व्यहोर्ने र स्थानीय तहहरुले ६० प्रतिशत खर्च व्यहोर्ने गरी सहमति गरिएको थियो । तर, हालसम्म पनि स्थानीय तह र जिल्ला समन्वय समितिले यसमा चासो देखाएका छैनन् ।

जिल्ला समन्वय समितिको जगेडा कोषबाट मोटामोटी १ करोड रुपैयाँ खर्च गर्नेबारे जिल्लासभामा छलफल भएको थियो । स्थानीय तहहरुले नयाँ बजेटमा पीसीआर मेसिन खरिद तथा ल्याब सञ्चालनको कार्यक्रम र बजेट समावेश गरिने पनि सहमति भएका थिए । ‘असारभित्रै नयाँ बजेट आउन लागेकोले त्यसमा मेसिन खरिद र ल्याब सञ्चालनको विषय प्रवेश गराउन स्थानीय सरकार प्रमुखहरु सहमत भएका छन्’ जिल्ला समन्वय अधिकारी मोहनसिंह धामीले भनेका थिए ।

तर, जिल्ला समन्वय समिति प्रमुख करवीर कार्कीले चौलानी खबरसँंग भने, ‘यो सम्बन्धि हाल कुनै पक्रिया पनि अगाडि बढेको छैन । एक्लै जिल्ला सम्वनय समितिले मात्रै बजेट विनियोजन गरी मेसिन खरिद र ब्यवस्थापनमा बजेट नपुग्ने भयो। ९ वटै स्थानीय तहहरुले यसमा कुनै बजेटको व्यवस्थापन गरेनन् । त्यसकारण यस सम्बन्धि कुनै पक्रिया अगाडि बढेको छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *