‘टन्सिलले निम्त्याउन सक्छ मुटुरोग’


काठमाडौँ । घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ। टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्छन् । डा. रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीनरलाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउँछन् । उनका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।

सोही समस्या मुलुकका विपन्न परिवारमा रहेकाले सोही विषयलाई चित्रण गर्दै उनले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले आज काठमाडौँमा उक्त पुस्तकबारे गरेको अन्तरक्रियामा डा रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताए ।

उक्त समारोहमा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्ने तर्फ ध्यानाकर्षण गराए । उनका अनुसार बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका माङ्सपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतिले उक्त डा रेग्मीको पुस्तक सर्वसाधारण नागरिकले मात्रै नभई हरेक स्वास्थ्यकर्मीले पढ्नै पर्ने धारणा राख्नुभयो । “यो पुस्तकमा राजनेता वा चिकित्सकले नै रोगबारे वास्ता नगरेको वा थाहा नपाएको कुरा उल्लेख छ”, पुस्तकमाथि टिप्पणि राख्दै डा उप्रेतीले भने, “बाथ जोर्नीमा बस्छ, तर यसले मुटु खान्छ भन्ने कुरा किताबमा स्पष्ट रुपमा राखिएको छ ।”

अग्रज साहित्यकार तुलसी दिवसले स्वास्थ्य जस्तो विषयगत मान्छेले लेखेको पुस्तकमा मानिसका संवेदनाहरु पत्रैपत्र उनेर पुस्तकाकारको रुपमा प्रस्तुत गर्ने शिर्जनशील कलाका लागि लेखकको प्रशंसा गरे । उहाँले रोगबाट मानिसको जीवन जोगाउन डा. रेग्मीले भौतिक रुपमा मात्रै नभई पुस्तकमार्फत समेत ठूलो योगदान गर्नु भएको स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *