के के फिचर्स छन् त नेपाल आउने रेलमा ?


जनकपुर । जयनगर रूटमा चल्नेगरी शुक्रबार दुई रेल नेपाल आउँदै छन्। यी रेल भारतमा मध्यम दूरीमा चल्ने रेलजस्तै आधुनिक रहेको रेल्वे विभागले जनाएको छ।

विभागका अनुसार १३०० सिट क्षमताको यी रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्सप्रेस’ कै फिचर्स छन्।

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल डिजेलबाट स्टार्ट हुन्छ। जेनेरेटरबाट पैदा भएको बिजुलीले इन्जिन चल्छ।

रेललाई फर्काइराख्नु पर्दैन। दुबैतिर इन्जिन रहेकाले रेल चलाउन निकै सजिलो रहेको मिश्रले बताए।
भारतका विभिन्न सहरमा ३०० किलोमिटरसम्म चल्ने यस किसिमका रेलहरू रहेको मिश्रले बताए।
‘मोटामोटी मेट्रो ट्रेनको फिचर्स छ भन्न मिल्छ, मेट्रो र भारतमा चल्ने साधारण लोकोमोटिभ रेलको मिक्स फिचर्स छ,’ मिश्रले भने।

यसमा एसीयुक्त आरामदायी सिटहरू छन्।
रेलमा दुई वटा इन्जिन छन्। अगाडिको इन्जिन मुख्य हुन्छ। अगाडिकोलाई पावर कार र पछाडिकोलाई टेलर कार भनिन्छ।
रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर हो। तर, जनकपुर(जयनगर रेल्वेको डिजाइन प्रतिघन्टा १०० किलोमिटर स्पिडको बनाइएको छ।
भ्याटबाहेक ८५ करोड रुपैयाँमा यो रेल किनिएको मिश्रले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *