लामो दूरीका सार्वजनिक यातायात खुल्ला, यसरी हुँदैछ व्यवस्थापन?


काठमाडौं । करिब ६ महिना लामो बन्दाबन्दी पछि आज असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन खुल्ला भएको छ । गत सोमबारको मन्त्रिपरिषदको निर्णयले पूर्वनिर्धारित मितिमा नै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेसँगै बिहिबारबाट लामा दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएको हो । योसँगै आजबाट अन्तर जिल्ला तथा अन्तर प्रदेश भाडाका सवारी साधनहरु सञ्चालनमा आएका छन् ।

केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरले उपत्यकाभित्र जोरविजोर प्रणालीमा १६ सिट भन्दा माथिका सवारीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

त्यस लगत्तैको गत सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले भने आवश्यक स्वास्थ्य सुरक्षाकोे मापदण्ड अधिकतम प्रयोग गरी देशभरका सार्वजनिक सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । तर त्यस्ता सार्वजनिक सवारी धानहरुले सरकारले जारी गरेको निर्देशिका अनिवार्य पालन गरेर मात्र सञ्चालन अनुमति पाउने छन् ।

लामो दुरीमा सञ्चालन हुने सवारी साधनले अनिवार्य सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने, मास्क–सेनिटाइजर अनिवार्य हुनुपर्ने, बेलाबेलामा गाडीको डिस्इन्फेक्सन हुनुपर्ने लगायत स्थानीय सरकारको समेत नियम पालन गर्नु पर्ने छ ।

तर यसरी सञ्चालन हुने सार्वजनिक सवारी साधनले यात्रुहरुबाट साविकको भाड दर भन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरेको छ । यसरी सञ्चालन हुने सवारी साधनहरु डी टु डी प्रणालीमा मात्र सञ्चालन हुन पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमालले रातोपाटीसँग बताए ।

यसअघिकै निर्देशिकामा थप केही सुधार गर्दै जारी गरिएको निर्देशिकाले लामो दुरीका सवारी साधनलाई डी टु डी ९डेस्टिनेशन टु डेस्टिनेशन० नियम लागु गरेको हमालले बताए । लामो दुरीमा सञ्चालन हुने सवारी साधनले बीचमा मान्छे चढाउने र झार्ने गर्न नपाउने हमालको भनाइ छ ।

‘लामो दुरीमा सञ्चालन हुने सवारीहरुमा डीटुडी प्रणाली लागु हुन्छ । पहिले जस्तो जहाँ पायो त्यहि गाडी रोक्ने, यात्रु चढाउन र झार्ने गर्न पाउँदैनन् । सिधै लक्षित स्थानमा गएर मात्र यात्रु झार्न पाउछन्’ महानिर्देशक हमालले भने, ‘यदि यसो नगरिएको पाइए कडा कारबाही हुन्छ ।’

यसैमा थप्दै हमालले भने, ‘तर लामो रुटमा सञ्चालन हुने गाडीहरुका लागि बीचबीचमा विश्राम चाहिने हुँदा खाजा, नास्ता खाने ठाउँमा भने रोक्न पाउने तर आवश्यक सामाजिक दुरी कायम गरिनु पर्ने उनले बताए ।

रोक्ने, बस्ने, खाजा खाने ठाउँमा हुल हुल्जत हुने सम्भावना रहेकाले त्यस्तो गतिविधि हुन नदिन स्थानीय सरकार मार्फत् ठाउँठाउँमा सुरक्षाकर्मीहरु खटाइने समेत हमालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *