काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीहरूमाझ उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन्। समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आइरहँदा मंगलबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका हुन्।
मन्त्री श्रेष्ठले केन्द्रले विद्यार्थीहरूमाझ समयमै पुस्तक पुर्याउन निर्देशन गर्दै आगामी दिनहरूमा आफूले उस्तै गुनासोहरू सुन्न नचाहेको बताएका छन्। कुनैपनि हालतमा विद्यार्थीलाई पुस्तक अभाव हुन नदिने गरी पाठ्यपुस्तक प्रकाशन गर्न उनले निर्देशन जारी गरे। श्रेष्ठले भने, ‘पुस्तक नै विद्यार्थीलाई समयमा दिन सकेन भन्ने आलोचना धेरै आउने गर्छ। यो आलोचना विगतमा जे जस्तो आयो। तर अब वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्नँ। त्यसका लागि तपाईंहरूलाई के अप्ठ्यारो छ? पाठ्यक्रमबाट तपाईंहरूलाई सामग्री नआएको हो भने किन ढिला भएको छ, तत्काल आफै पनि पहल गर्नुस्।’
कुनैपनि पुस्तकको छपाइ समयमा गर्ने र काठमाडौँमा बसेर जुम्लाको विकट गाउँको विद्यालयमा पनि त्यसलाई पुर्याउनुपर्छ भनेर सम्झन उनले आग्रह गरेका छन्। उनले अगाडि भने, ‘यहाँ त सजिलै पाउनुहोला। सबैभन्दा पहिला दुर्गम ठाउँमा किताबहरू पुग्नुपर्यो। अब नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुँदैछ। कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाईंहरूले गर्नैपर्छ। प्रकाशित पुस्तकहरू समयमै त्यो ठाउँमा पुग्नैपर्छ।’
मन्त्री श्रेष्ठले निर्वाचनका लागि मतपत्र छाप्न पनि जनक शिक्षा सामग्री केन्द्रलाई दिने कुरा बताउँदै कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउन सक्ने हुँदा तयारी रहन आग्रह गरेका छन्।