‘ओली, कि झुठ बोल्नुहुन्छ कि निन्दा बोल्नुहुन्छ’


काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुर्भाग्यतिर लगेको आरोप लगाएका छन्। हेरिटेज गार्डेनमा भएको राष्ट्रिय कार्यकर्ता भेलाको समापन समारोहलाई सम्बोधन गर्दै भुसालले पार्टीको अहिलेको अवस्था भयानक दुर्भाग्य भएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘गौरवशाली इतिहास र लाखौँ कार्यकर्ता भएको पार्टीका अध्यक्ष र पार्टीले प्रधानमन्त्री बनाएको व्यक्तिले एकपछि अर्को सुनियोजित गल्ती गर्दै पार्टीको भविष्यलाई दुर्भाग्यतिर लैजाँदैछन्। यस्ता मान्छले कम्युनिष्ट आन्दोलनलाई उठ्नै नसक्ने बनाउन सक्छन्।’

उनले भेलामा ४ हजार जम्मा भएर आन्दोलन झुक्न दिइन्न भनिरहेकोले त्यो चाहिँ ठूलो सौभाग्य भएको बताए। भुसालले ओलीकै कारण पार्टीलाई समर्थन गरेका सारा कार्यकर्ता लज्जित बनेको टिप्पणी गरेका छन्। उनले भने, ‘ओली, कि झुठ बोल्नुहुन्छ कि निन्दा बोल्नुहुन्छ। बचेको पार्टी धुलिसात पार्न लाग्नु भएको छ। ओलीसँग किमार्थ झुकिन्नँ।’

बुधबारदेखि जारी कार्यकर्ता भेला आज सकिँदैछ। भेलामा माधवकुमार नेपालले अवधारणा पत्र पेश गरेका थिए। उक्त अवधारणा पत्र परिमार्जनसहित देशभरका कार्यकर्तासम्म पुर्‍याइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *