बोर्ड र नेमप्लेट राख्ने विषयमा ‘ओलीु’ र ‘माधव’ समूहबीच झडप


काठमाडौँ, कैलालीमा ओली र नेपाल समूहबीच झडप भएको छ। प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ता बीच कुटाकुट भएको हो ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखिएपछि माधव नेपाल समूहका कार्यकर्ताहरूले ‘नेम प्लेट’ तोडफोड गरे। उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए। यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिए। विवाद बढ्दै गएपछि कुटाकुट भएको हो। बुधबार प्रदेश पार्टी कार्यालयमा नेकपाको ब्यानर हटाएर नेकपा एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो। ११ बजे नेकपा एमालेको ब्यानर लिएर प्रदेशका अध्यक्ष कर्ण थापा पार्टी कार्यालयमा पुगेका हुन्।

प्रदेश अध्यक्ष थापा कार्यालय प्रवेश गर्दासम्म नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राखिसकिएको थियो। नेपाल समूहका कार्यकर्ताहरूले ब्यानर राखेका थिए। थापा प्रवेश गर्दा प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्ष बाहिर भानुभक्त जोशी र इन्चार्जमा भीम रावलको नेम प्लेट थियो। त्यही समयमा दुवै जनाको नेम प्लेट निकाली कर्ण थापाको र लेखराज भट्टको नाम राखियो। त्यसलगत्तै नेपाल समूहका कार्यकर्ताहरूले लेखराज भट्टको नेम प्लेट हटाई पार्टीको प्रदेश इन्चार्ज भीम रावल रहेको दाबी गरेपछि दुईसमूहबीच विवाद भयो। विवाद चर्किँदै गएपछि उनीहरूबीच हातहालाहालको स्थिति सिर्जना हुन पुगेको हो।

ओली समूहका कार्यकर्ताहरूले भीम रावलको नेम प्लेट समेत तोडफोड गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *