प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई


काठमाडौँ ,  प्रधानसेनापति छैटौँ खुला म्याराथन दौड, २०७७ को उपाधि नेपाली सेनाका जमदार कृष्णबहादुर बस्नेतले जित्नुभएको छ । उहाँले ४२ दशमलव १९५ किलोमिटर फुल म्याराथन दौड दुई घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।

सोही स्पर्धामा भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभयो । सेनाका सुवेदार होमलाल श्रेष्ठ तृतीय हुनुभयो । उहाँले निर्धारित दूरी दुई घण्टा २३ मिनेट ३२ सेकेण्डमा पूरा गर्नुभयो । पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभयो ।

उहाँहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रमाणपत्र, ट्रफी र नगद प्रदान गर्नुभयो । उपाधि विजेता बस्नेतले यमाहा कम्पनीको एक थान मोटरसाइकलसमेत पुरस्कारस्वरुप प्राप्त गर्नुभयो । सो पुरस्कारको प्रायोजन मेगा बैंकले गरेको हो ।

फुल म्याराथनतर्फ खगेन्द्र भाटले चौथो, नवराज साउदले पाँचौँ, ज्ञानप्रसाद भट्टराईले छैटौँ, देवराज महतराले सातौँ, सागर बुढाथोकीले आठौँ, रमेश मगरातीले नवौँ तथा प्रेम बस्नेतले १०औँ स्थान प्राप्त गर्नुभयो ।

यसैगरी हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाका राजेन्द्र राई पहिलो हुनुभयो । उहाँले २१ किलोमिटर दौड एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पूरा गर्नुभयो । यस्तै सेनाकै राजन रोकाय एक घण्टा सात मिनेट ११ सेकेण्डमा उक्त दूरी पूरा गर्दै दोस्रो तथा सेनाका नरेन्द्र रावलले एक घण्टा आठ मिनेट ४८ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो हुनुभयो । उहाँहरुले क्रमश रु ७५ हजार, रु ५० हजार तथा रु ३५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । सो पुरस्कारको प्रायोजन एनआइसी एशिया बैंकले गरेको हो ।

यस्तै हाफ म्याराथन महिलातर्फको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले जित्नुभयो । उहाँले निर्धारित दूरी एक घण्टा १७ मिनेट ३३ सेकेण्डमा पूरा गर्नुभयो । यस्तै नेपाली सेनाकी विश्वरुपा बुढा एक घण्टा २० मिनेट ९ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा एपिएफ क्लबकै विन्द्रा धन्के श्रेष्ठ एक घण्टा २४ मिनेट ४६ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो हुनुभयो । उहाँहरुले क्रमश रु ७५ हजार, रु ५० हजार र रु ३५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

उक्त पुरस्कारको प्रायोजन ग्लोबल आइएमईले प्रायोजन गरेको हो । उपाधि विजेता भण्डारीलाई एक थान स्कुटरसमेत पुरस्कारस्वरुप प्राप्त गर्नुभयो ।

यस्तै १० किलोमिटर दौडमा सैनिक अधिकृत महिलातर्फ चण्डीदल गणकी उपसेनानी दुर्गा केसी ४९ मिनेट २९ दशमलव ४५ सेकेण्डका साथ पहिलो, नं १ विपत् व्यवस्थापन गणकी सहसेनानी चन्द्रा बानियाँ ५१ मिनेट २७ दशमलव ३१ सकेण्डका साथ दोस्रो तथा हवाई सुरक्षा तालीम शिक्षालयकी सहसेनानी देवी पुन ५१ मिनेट ५६ दशमलव २८ सकेण्डका साथ तेस्रो हुनुभयो ।

यसैगरी १० किलोमिटर दौड सैनिक अधिकृत पुरुषतर्फ नं १६ बाहिनी जगदल गणका सहसेनानी दिशान्त विष्ट ३८ मिनेट १२ दशमलव ०३ सेकेण्डका साथ पहिलो, इन्द्रबक्स गणका सहसेनानी डम्बर बुढा ३८ मिनेट ४१ दशमलव ०६ सेकेण्डका साथ दोस्रो तथा युद्धकवच गणका उपसेनानी विशालचन्द्र बाजी ३८ मिनेट ५९ दशमलव ०१ सकेण्डका साथ तेस्रो हुनुभयो । उहाँहरुले क्रमश रु १० हजार, रु सात हजार तथा रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

दश किलोमिटर दौड गैर सैनिक पुरुषतर्फ सुमन न्यौपाने ३३ मिनेट २३ दशमलव ९१ सकेण्डका साथ पहिलो, दिनेश बोगटी ३३ मिनेट ४१ दशमलव ७६ सेकेण्डका साथ दोस्रो तथा महेन्द्र बराल ३७ मिनेट ३० दशमलव १४ सकेण्डका साथ तेस्रो हुनुभयो । दश किलोमिटर गैर सैनिक महिलातर्फ सरस्वती बोहरा ४२ मिनेट ४१ दशमलव ३२ सेकेण्डका साथ पहिलो, बन्दना राई ४३ मिनेट ४३ दशमलव ५२ सेकेण्डका साथ दोस्रो तथा सचिना सुनुवार ४५ मिनेट सात दशमलव ३० सकेण्डका साथ तेस्रो हुनुभयो ।

पाँच किलोमिटर दौड विद्यालय छात्रतर्फ विश्वराम कुँवर १८ मिनेट १० दशमलव २३ सेकेण्डका साथ पहिलो, विमलविक्रम थापा १९ मिनेट ५१ दशमलव २५ सेकेण्डका साथ दोस्रो तथा अनिलकुमार बुढा २० मिनेट २६ दशमलव ३० सेकेण्डका साथ तेस्रो हुनुभयो । यस्तै पाँच किलोमिटर दौड छात्रातर्फ सदीक्षा कार्की २६ मिनेट ११ दशमलव ६४ सेकेण्डका साथ पहिलो, स्वेच्छा बलामीमगर २६ मिनेट ४२ दशमलव ३२ सेकेण्डका साथ दोस्रो तथा मिना डाँगी २७ मिनेट १७ दशमलव २१ सेकेण्डका साथ तेस्रो हुनुभयो । उहाँहरुले क्रमश रु १० हजार, रु सात हजार तथा रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यसैगरी २१ किलोमिटर भेट्रान्सतर्फ धर्म महर्जन एक घण्टा १४ मिनेट २९ सेकेण्डका साथ पहिलो, भीम गुरुङ एक घण्टा २७ मिनेट २० सेकेण्डका साथ दोस्रो तथा भीमसेन अवाले एक घण्टा २७ मिनेट ३१ सेकेण्डका साथ तेस्रो हुनुभयो । उहाँहरुले क्रमश रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरुलाई प्रधानसेनापति थापा, राष्ट्रिय खेलकूद परिषद् राखेप का सदस्य सचिव रमेशकुमार सिलवाललगायतले प्रमाणपत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । सेनाको मुख्यालय जङ्गीअड्डाबाट शुरू भएको म्याराथन थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जगाति, सानोठिमी, पेप्सिकोला हुँदै विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, लैनचौर, घण्टाघर हुँदै भद्रकालीमा आएर सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *