किस्तीमा प्रधानमन्त्री बोकेर खाइदिनु पर्यो भन्दै हिँडेका छन् प्रचण्ड–माधव : प्रधानमन्त्री ओली


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आफ्नै पार्टीको नेतृत्वमा सरकारलाई ढाल्न खोज्दै प्रधानमन्त्री पद किस्तीमा बोकेर विभिन्न राजनीति दलको ढोकामा पुगेको आरोप लगाएका छन्। शुक्रबार नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘म पार्टीको अध्यक्ष छु, संसदीय दलको नेता पनि मै हुँ, मेरो नेतृत्वको सरकारले ‘सुखी नेपाली–समृद्धि नेपाल’को नारा लिएर दिनानुदिन देश विकासमा अगाडि बढिरहेको छ। मेरै पार्टीका केही साथीहरुलाई यो कुरा चित्त बुझेन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले उनीहरु आफ्नै पार्टीको बहुमत सरकार ढाल्न हर कोसिस गरिरहेका छन्, तर यो असम्भव छ’

आफू देश र जनताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको भन्दै केही सांसदहरुको साथ लिएर आफ्नो सरकार ढाल्ने तागत प्रचण्ड–माधवसँग नभएको समेत जिकिर गरे। शुक्रबार सिंहदरबारमा प्रचण्ड–माधव पक्षले बोलाएको संसदीय दलको बैठकतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेहरुले आज संसदीय दलको बैठक बस्दै छौ भनेको सुनेको छु, त्यो कुन दल हो मलाई थाहा छैन, संसदीय दलको नेता म यता छु।’

प्रचण्ड–माधव पक्षले भने आजै संसदीय दलको बैठक बोलाई एक सय १४ सांसदको हस्ताक्षरसहित ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ। योसँगै प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *