संसद बैठकमा पार्टीको भूमिका तय गर्न कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्दै


काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनु भएको छ। संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ बजे आफ्नै निवास बूढानीलकण्ठमा देउवाले बैठक बोलाउनु भएको हो।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुसँग छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसदमा पार्टीको भूमिकाबारे नीति तय गर्नेबारे सभापतिले तयारी गर्न लाग्नुभएको हो। आगामी सरकारमा सहभागिता हुनेर नहुनेबारे पार्टीमा दुई मत देखिएपछि देउवाले संसद पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्न लाग्नुभएको हो।

गएको १३ गते बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा विभाजनको प्रष्टता नभए तटस्थ बस्ने निर्णय गरेको थियो। तर संसदमा सरकार गठनको प्रक्रिया सुरु नहुँदै नेताहरु पक्षरविपक्षमा विभाजित हुन थालेपछि देउवाले पार्टी धारणा एक बनाउन छलफललाई जोड दिएको बुझिएको छ।

कांग्रेस स्रोतका अनुसार देउवाले पार्टीका पदाधिकारी, संसदीय दल र केन्द्रीय कार्यसमितिको छलफलबाट पार्टीको ठोस नीति बनाउने तयारी गर्नुभएको हो। बुधबार सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एकै मञ्चबाट फरक–फरक दृष्टिकोण आएपछि आगामी सरकार निर्माणमा कांग्रेसको भूमिकाबारे राजनीतिक वृत्तमा विभिन्न विश्लेषण हुन थालेका छन्।

सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिनुभएको छ भने पौडेलले प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने बताउँदै आउनुभएको छ। पार्टी धारणा स्पष्ट पार्न शनिबारका लागि केन्द्रीय समिति बैठक बोलाउने पनि देउवाको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *