जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा हामी विश्वास गर्छौँ -डा. महत


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएका कारण नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन्। जनतामा जाने कुरालाई नकार्न नमिल्ने बताउँदै निर्वाचनलाई कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ।

डा महतले भने, ‘ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा नेपाली कांग्रेस विश्वास गर्छ। जनताबाटै अनुमोदित भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तत्कालीन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन।’

उनले अगाडि भने, ‘नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो। जनताबाट अनुमोदित नभईकन सत्तामा जाने कुरालाई कहिल्यै पनि नेपाली कांग्रेसले स्वीकारेको छैन। हाम्रो सिद्घान्त नै यही हो।’ जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरूको लागि स्वाभाविक हुनसके पनि कांग्रेसको लागि नहुने उनको भनाइ छ। अदालतले जे फैसला गरे पनि कांग्रेसले स्वीकार गर्ने बताउँदै उनले भने, सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरेर निर्वाचनमा जाऊ भनेको खण्डमा नेपाली कांग्रेस तयार छ। सर्वोच्चले जे पनि फैसला गर्नसक्छ। हामी सर्वोच्चले जुनै फैसला गरेपनि स्वीकार्न तयार छौँ।

उनले थपे, ‘सर्वोच्चबाट संसद पुनःस्थापना नै भएको खण्डमा, त्यसलाई पनि हामी सहज रूपमा स्वीकार गर्छौ र निर्वाचनमा जाने स्थिति आयो, अदालतले त्यो किसिमको बाटो तय गर्‍यो भने पनि हामी त्यो निर्णयलाई अवज्ञा गर्न सक्दैनौँ। जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौँ।’

सहमहामन्त्री डा महत पार्टीका सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *